कानुन, न्याय तथा मानव अधिकार समिति को १६ औं बैठक २०८३ आश्विन १९ मा समिति सभापति मा. समिक्षा बास्कोटा को सभापतित्वमा सुरु भई ३ घण्टा सम्म संचालन भयो। उपस्थिति विवरण २०८३ आश्विन २० मा उपलब्ध हुनेछ
मितिः २०८३/0६/१९ गते, सोमबार,
समयः बिहान ११:४५ बजे,
स्थानः अर्थ समितिको सभाकक्ष (सङ्घीय संसद् भवन नं. १, तेस्रो तल्ला, कोठा नं. ४०२), सिंहदरबार, काठमाडौँ।
- समितिमा प्राप्त विधेयक सम्बन्धी समिति सचिवद्वारा जानकारी सम्बन्धमा,
- मेलमिलाप सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि सैद्धान्तिक छलफल सम्बन्धमा,
- विविध सम्बन्धमा।
छलफल:
- समितिको आजको बैठकमा कार्यसूचीको बुँदा नं १ मा रहेको मेलमिलाप सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३, नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ समितिमा प्राप्त भएको र नि:शुल्क कानूनी सहायता सम्बन्धी विधेयक, २०८३ समितिमा प्राप्त हुने क्रममा रहेको बेहोरा समिति सचिवले जानकारी गराउनु भयो।
- कार्यसूचीको बुँदा नं २ मेलमिलाप सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि सैद्धान्तिक छलफल प्रारम्भ भयो। त्यसपछि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव पाराश्वर ढुङ्गानाले आफ्नो भनाइ व्यक्त गर्नुभयो। तत्पश्चात् माननीय सदस्यहरू स्मृति सेन्चुरी, बलावती शर्मा, मधु कुमार चौलागाई, मनिष खनाल, प्रकाश चन्द्र परियार, साजिदा खातुन सिद्धिकी, नीनु कुमारी कर्ण र सुलभ खरेलले आ-आफ्ना धारणा राख्नुभयो। तत्पश्चात् माननीय कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले माननीय सदस्यहरुले उठान गर्नु भएको विषय र विधेयकको समग्र सैद्धान्तिक पक्षमा केन्द्रित भई नेपाल सरकारको तर्फबाट आफ्नो भनाइ व्यक्त गर्नुभयो।
- कार्यसूचीको बुँदा नं ३ विविध अन्तर्गत माननीय सदस्य अफ्साना बानुले सरकारी अस्पतालमा पार्किङ्को समस्या, माननीय सदस्य खिमा वि. क. ले राउटे समुदायको संख्या घटनुको कारण, माननीय सदस्य बलावती शर्माले सुकुम्बासीको समस्या, बजारको महँगी, माननीय सदस्य सरस्वती लामाले भोटेकोशीको बाढी पहिरोमा परेको जनावारको खाद्यान्नको व्यवस्थापन, माननीय सदस्य सुलभ खरेलले कानुन विश्वविद्यालय स्थापना गर्नुपर्ने र माननीय सदस्य साजिदा खातुन सिद्धिकीले आर्विटेशन र बालबालिकाको सुरक्षासम्बन्धी लगायतका विषयमा भनाई राख्नुभयो।
- समितिको माननीय सभापतिले देहाय बमोजिमको शुभकामना व्यक्त गर्नुभयोः-
असत्यमाथि सत्यको र अधर्ममाथि धर्मको विजयको प्रतीकका रूपमा मनाइने दसैँले हामीबिच आपसी सद्भाव, सहिष्णुता, भ्रातृत्व र पारिवारिक पुनर्मिलनको सन्देश प्रवाह गर्दछ। हाम्रो समाजमा रहेका विविधताहरूलाई एकताको सूत्रमा बाँध्न र सांस्कृतिक धरोहरको जगेर्ना गर्न यस्ता चाडपर्वहरूको विशिष्ट भूमिका रहेको सन्दर्भमा नेपालीहरूको महान् सांस्कृतिक पर्व बडादसैँ (विजयादशमी) २०८३ एवम् आउदै गरेको दिपावली, नेपाल संवत्, छठ पर्वको समेत यस पावन अवसरमा माननीय कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीज्यू, समितिका माननीय सदस्यहरू, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव लगायत अन्य कर्मचारीहरू, संसद् सचिवालयका कर्मचारीहरू, मर्यादापालक, सञ्चारकर्मी एवम् स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
साथै, कानुन, न्याय तथा मानव अधिकार समितिको नेतृत्वको हैसियतले यस गरिमामय अवसरमा संविधानवाद, कानुनी शासनको सुदृढीकरण, न्यायमा सर्वसाधारणको सहज पहुँच र मानव अधिकारको पूर्ण ग्यारेन्टी गर्ने संकल्पलाई पुनः दोहोर्याउन चाहन्छु। यी पर्वहरुले हामी सबैलाई कानुनको पालना गर्न, सामाजिक न्याय प्रवर्द्धन गर्न र समाजका उत्पीडित एवं पिछडिएका वर्गको अधिकार संरक्षणमा प्रतिबद्ध रहन हामी सबैमा थप ऊर्जा र प्रेरणा प्रदान गर्नेछ भन्ने कामनासमेत गर्दछु।
बैठक समापन :-
समितिको आगामी बैठकबारे अर्को सूचनाद्वारा सूचित गराउने जानकारीकासाथ माननीय सभापतिले आजको बैठक अन्त्य गर्नुभयो।
कानुन, न्याय तथा मानव अधिकार समिति - बैठक १६ · २०८३ आश्विन १९ · बिहान ११:४५ देखि दिउँसो २:४५ सम्म
उपस्थिति विवरण २०८३ आश्विन २० मा उपलब्ध हुनेछ