कानुन, न्याय तथा मानव अधिकार समिति को ११ औं बैठक २०८३ श्रावण २७ मा समिति सभापति मा. समिक्षा बास्कोटा को सभापतित्वमा सुरु भई ३ घण्टा ३२ मिनेट सम्म संचालन भयो। २७ मध्ये २० उपस्थित
कार्यक्रमः-
मितिः २०८३/०४/२७ गते, बुधबार,
समयः बिहान १०:०० बजे,
स्थानः समितिको सभाकक्ष (काठघर न. २), सङ्घीय संसद् सचिवालय, सिंहदरबार,काठमाडौँ।
बैठकको कार्यसूचीः-
- विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा एवम् कैदीबन्दीहरूको मानव अधिकारको अवस्था सम्बन्धी अध्ययन उपसमिति, २०८३ को प्रतिवेदन पेस र छलफल,
- उपसमिति गठन,
- विविध।
छलफल:
समितिको आजको बैठकमा कार्यसूचीको बुँदा नं. १ अन्तर्गत "विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा एवम् कैदीबन्दीहरूको मानव अधिकारको अवस्था सम्बन्धी स्थलगत निरीक्षण तथा अवलोकन उपसमिति, २०८३" को प्रतिवेदन उपसमितिका माननीय संयोजक स्मृति सेन्चुरीले समिति समक्ष पेस गर्नुभयो उक्त प्रतिवेदनमाथि माननीय सदस्यहरू राम विनोद यादव, रचना खतिवडा खत्री, अफ्साना बानु, भुमिका श्रेष्ठ, मधु कुमार चौलागाई, सरस्वती लामा, मनमाया विश्वकर्मा, बलावती शर्मा, साजिदा खातुन सिद्धिकी र मोहन लाल आचार्यले आ-आफ्नो धारणा प्रस्तुत गर्नुभयो। तत्पश्चात् कार्यसूचीको बुँदा नं. २ अन्तर्गत "उजुरी अध्ययन तथा सिफारिस उपसमिति" गठन भयो। कार्यसूचीको बुँदा नं. ३ विविध अन्तर्गत माननीय सदस्यहरू मनमाया विश्वकर्माले दलित समुदायले कारागार तथा हिरासतमा भोग्नु परेका समस्या, सुहाङ्ग नेम्वाङ्गले कतारमा नेपाली श्रमिकका समस्या, मदन कृष्ण श्रेष्ठले फैसला कार्यान्वयनमा भइरहेको ढिलाइ, नीनु कुमारी कर्णले मधेशमा भएको साम्प्रदायिक द्वन्द्व, रुबिना आचार्यले स्वतन्त्र पत्रकारिता, साजिदा खातुन सिद्धिकीले साइबर आक्रमण र सरस्वती लामाले सार्वजनिक स्थलहरूमा आर्थिक सहयोग माग गर्ने व्यक्तिहरूका अनियन्त्रित क्रियाकलाप लगायतका समसामयिक विषयमा आफ्नो भनाइ प्रस्तुत गर्नुभयो।
निर्णयः
- विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा एवम् कैदीबन्दीहरूको मानव अधिकारको अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिको प्रतिवेदन समितिले ग्रहण गर्ने, प्रतिवेदनउपर समितिका माननीय सदस्यहरुबाट लिखित सुझाव माग गर्ने, समितिको आगामी बैठकमा समेत प्रतिवेदनमाथि छलफल गर्ने र प्राप्त सुझावहरुलाई समेटी प्रतिवेदनलाई थप कार्यान्वयनयोग्य र व्यवहारिक बनाउने।
- समितिमा प्राप्त भएका तथा प्राप्त हुने उजुरीहरूको अध्ययन तथा विश्लेषण गरी समितिमा छलफल गर्नुपर्ने र नपर्ने विषयहरूको वर्गीकरण गर्ने, सो सम्बन्धमा छलफल गर्न सक्ने सम्बन्धित सरोकारवाला पक्षहरूको जानकारी दिनेसमेत उद्देश्यका साथ देहाय बमोजिमको "उजुरी अध्ययन तथा सिफारिस उपसमिति" गठन गर्ने।
- सदस्य सङ्ख्या: ७ (सात) सदस्यीय।
- समयावधि: उपसमिति गठन भएको मितिले १ (एक) वर्ष।
- उपसमितिको संयोजक र सदस्य :
१. माननीय मधु कुमार चौलागाई - संयोजक
२. माननीय बलावती शर्मा - सदस्य
३. माननीय मनमाया विश्वकर्मा - सदस्य
४. माननीय रुबिना आचार्य - सदस्य
५. माननीय सरस्वती लामा - सदस्य
६. माननीय साजिदा खातुन सिद्धिकी - सदस्य
७. माननीय सुष्मा स्वर्णकार ( डिम्पल ) – सदस्य
उपसमितिको कार्यादेश:
उपसमितिको कार्यादेश देहाय बमोजिम हुनेछ:
क. समितिमा प्राप्त भएका र प्राप्त हुने उजुरी, ज्ञापनपत्र, मागपत्र, ध्यानाकर्षण पत्रहरुको अध्ययन तथा विश्लेषण गरी समितिमा छलफल गर्नुपर्ने र नपर्ने उजुरी, ज्ञापनपत्र, मागपत्र, ध्यानाकर्षण पत्रहरुको वर्गीकरण गर्ने।
ख. उजुरी, ज्ञापनपत्र, मागपत्र, ध्यानाकर्षण पत्रहरुको सम्बन्धमा आवश्यकतानुसार सम्बन्धित निकाय, उजुरीकर्ता तथा अन्य सरोकारवालाहरूसँग तथ्य, प्रमाण र आवश्यक विवरणका बारे बुझ्ने ।
ग. विषयवस्तुको गम्भीरता हेरी आवश्यक परेमा स्थलगत निरीक्षण, अनुगमन तथा अवलोकन गरी वस्तुगत तथ्य सङ्कलन गर्ने।
घ. उजुरी, ज्ञापनपत्र, मागपत्र, ध्यानाकर्षण पत्रहरुसँग सम्बन्धित नीतिगत, कानुनी तथा प्रशासनिक पक्षहरूको अध्ययन गरी अध्ययनका आधारमा समितिको आवश्यक कारबाही सम्बन्धमा समितिसमक्ष सिफारिस गर्ने वा राय-सल्लाह पेस गर्ने।
बैठक समापन :-
- समितिको आगामी बैठकबारे अर्को सूचनाद्वारा सूचित गराउने जानकारीकासाथ माननीय सभापतिले आजको बैठक अन्त्य गर्नुभयो।