कानुन, न्याय तथा मानव अधिकार समिति को ८ औं बैठक २०८३ असार २९ मा समिति सभापति मा. समिक्षा बास्कोटा को सभापतित्वमा सुरु भई ३ घण्टा सम्म संचालन भयो। २७ मध्ये १६ उपस्थित
बैठकको कार्यसूचीः-
- बाल सुधार गृहमा रहेका बालबालिकाहरुको मानव अधिकारको अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिको प्रतिवेदन,2083 उपर छलफल,
- विविध।
छलफल:
समितिको आजको बैठकमा कार्यसूचीको बुदाँ नं. १ अन्तर्गत रहेको बाल सुधार गृहमा रहेका बालबालिकाहरुको मानव अधिकारको अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन प्रतिवेदन, २०८३ उपर छलफल भयो। यस प्रतिवेदनको विषयमा माननीय सदस्यहरू मधु कुमार चौलागाई, सरस्वती लामा, बलावती शर्मा, भुमिका श्रेष्ठ, नीनु कुमारी कर्ण, मनिष खनाल, प्रकाश चन्द्र परियार, मदन कृष्ण श्रेष्ठ, खिमा वि.क., सुलभ खरेल र मनमाया विश्वकर्माले आ-आफ्नो धारणा राख्नुभयो। तत्पश्चात् कार्यसूचीको बुदाँ नं. २ अन्तर्गत रहेको विविध अन्तर्गत माननीय सदस्यहरू नीनु कुमारी कर्ण, मनमाया विश्वकर्मा, सुहाङ्ग नेम्वाङ्ग, बलावती शर्मा, गीता गुरुङ, मधु कुमार चौलागाई, सरस्वती लामा, अफ्साना बानु, मनिष खनाल र सुलभ खरेलले गणेश नेपालीको आत्मदाह, माजित अन्सारी, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको व्यवस्थापन लगायतका विषयमा आ-आफ्नो धारणा राख्नुभयो।
निर्णयः
- बाल सुधार गृहमा रहेका बालबालिकाहरूको मानव अधिकारको अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिको प्रतिवेदन, २०८३ माथि समितिको सातौं बैठकबाट सुझावहरु प्राप्त भई प्रतिवेदनमा समावेश गरिएका सुझाव तथा सिफारिस र निष्कर्षलाई ग्रहण गर्दै आजको बैठकबाट प्राप्त सुझावहरुसमेत प्रतिवेदनमा समावेश गर्ने र बालसुधार गृहसँग सम्बन्धित प्रचलित ऐन तथा नियमावलीमा गर्नुपर्ने कानुनी संशोधनका विषयहरू प्रतिवेदनमा समावेश गर्न समितिका इच्छुक सदस्यहरूले आ-आफ्नो लिखित राय-सुझाव तीन (३) दिनभित्र समिति सचिवालयमा उपलब्ध गराउने र प्राप्त सुझावहरू समेत समेटेर सचिवालयले प्रतिवेदनलाई थप परिमार्जन गरी समितिको आगामी बैठकमा पेस गर्ने ।
- समितिको आगामी बैठकहरुमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र समाजिक सुरक्षा मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई आमन्त्रण गरी छलफल गर्ने र आवश्यक सुझावहरु लिने।
- समितिको मिति २०८३ जेठ ११ गते सोमबार बसेको बैठक (बैठक सङ्ख्या ४) बाट होल्डिङ सेन्टरमा रहेका सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको सम्बन्धमा भएको निर्णय र सो बमोजिम प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृह मन्त्रालयलाई दिइएका निर्देशनात्मक सुझावहरूको कार्यान्वयनको अवस्था के-कस्तो छ? सोको लिखित जानकारी ७ (सात) दिनभित्र समितिलाई उपलब्ध गराउन पत्राचार गर्ने। साथै, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको भूमि व्यवस्थापनका सम्बन्धमा के-कति कामकारबाही भइरहेको छ, सोको विस्तृत लिखित विवरण ७ (सात) दिनभित्र समितिलाई उपलब्ध गराउन भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई समेत पत्राचार गरी माग गर्ने।
बैठक समापन :-
- समितिको आगामी बैठकबारे अर्को सूचनाद्वारा सूचित गराउने जानकारीकासाथ माननीय सभापतिले आजको बैठक अन्त्य गर्नुभयो।