कृषि तथा प्राकृतिक स्रोत समिति को १६ औं बैठक २०८३ आश्विन ११ मा समिति सभापति मा. अशोक कुमार चौधरी को सभापतित्वमा सुरु भई ५ घण्टा सम्म संचालन भयो। २९ मध्ये १५ उपस्थित
सङ्घीय संसद्, प्रतिनिधि सभा अन्तर्गत गठित कृषि तथा प्राकृतिक स्रोत समितिको सभापति मा. अशोक कुमार चौधरी को अध्यक्षतामा बसेको बैठकमा निम्नानुसारको उपस्थिति भई देहाय बमोजिमको निर्णय भयो।
- आन्तरिक छलफल,
- विविध।
कृषि तथा प्राकृतिक स्रोत समितिको आजको बैठक समितिको सभापति मा. अशोक कुमार चौधरीको अध्यक्षतामा बस्यो। बैठकमा देहायबमोजिमका माननीय सदस्यहरुले कृषिक्षेत्रसँग सम्बन्धित विभिन्न समस्याहरू, नीतिगत पक्ष तथा समितिको काम कारबाहीको प्रभावकारिताबारे आ-आफ्ना धारणा राख्नुभएको थियो:
१ मा. खगेन्द्र कर्ण
२ मा. सुरेश कुमार चौधरी
३ मा. जनक सिंह धामी
४ मा. सुजाता तामाङ
५ मा. शम्भु प्रसाद ढकाल
६ मा. लक्ष्मी प्रसाद पोखरेल
७ मा. के.पी. खनाल
८ मा. वसु माया तामाङ
९ मा. ज्ञानेन्द्र सिंह महता
१० मा. प्रेम बहादुर बयक
११ मा. कोमल ज्ञवाली
१२ मा. चन्देश्वर मण्डल
१३ मा. समिना मिया
बैठकमा विशेष गरी कृषि कृषियोग्य जमिनको अतिक्रमण तथा खण्डीकरण, भू-उपयोग नीतिको फितलो कार्यान्वयन, सिँचाइको अभाव, माटोको घट्दो उर्वराशक्ति र जलवायु परिवर्तनका असरहरूबारे छलफल गरिएको थियो। साथै, रासायनिक मलको सँधैजसो हुने अभाव, प्राङ्गारिक मल तथा इन्धन उत्पादनमा फोहोर तथा गोबरग्यासको प्रयोग, नेपाल कृषि अनुसन्धान परिषद् (NARC) को सबलीकरण, उन्नत बीउबिजनको विकास एवं बजारीकरणका चुनौतीहरूलाई प्राथमिकताका साथ उठाइएको थियो।
त्यसैगरी, हात्ती र बँदेललगायतका वन्यजन्तुबाट कृषि उत्पादनमा हुने क्षति, नियन्त्रणका लागि विद्यमान अव्यवहारिक कानुनी व्यवस्था र क्षतिपूर्ति प्रक्रियाको विषयमा छलफल भएको थियो। यसैगरी, संसदीय प्रक्रिया र समितिको भूमिकाका सम्बन्धमा मन्त्री तथा सचिवको न्यून उपस्थिति, बैठकको कोरम एवं समय व्यवस्थापन, निर्णय कार्यान्वयनको नियमित अनुगमन, उपसमितिको कामकारबाहीको सुस्तता र विधेयकहरूको मस्यौदामा सुरुवाती चरणदेखि नै समितिको पहुँच हुनुपर्ने विषयमा जोड दिइएको थियो। बैठकको अन्त्यमा समिति सचिवद्वारा समितिको आगामी कार्ययोजनाका सम्बन्धमा प्रकाश पार्नुभएको थियो।
कृषि तथा प्राकृतिक स्रोत समिति - बैठक १६ · २०८३ आश्विन ११ · बिहान ११:०० देखि साँझ ४:०० सम्म
आजको उपस्थिति
कुल २९ सदस्यमध्ये १५ जना बैठकमा उपस्थित थिए र १४ जना अनुपस्थित थिए।