पूर्वाधार विकास समिति को १४ औं बैठक २०८३ आश्विन १२ मा समिति सभापति मा. आशिष गजुरेल को सभापतित्वमा सुरु भई ५ घण्टा १ मिनेट सम्म संचालन भयो। २९ मध्ये ११ उपस्थित
यस समितिको बैठक समितिका सभापति माननीय आशिष गजुरेलको सभापतित्वमा बस्यो। बैठकको कार्यसूची, उपस्थिति र निर्णय देहfयबमोजिम रहेको छः-
१. वि.स. २०८३ सालको दशैँ, तिहार, छठ लगायतका चाडपर्वमा यात्रु आवागमन सहज, सुरक्षित र व्यवस्थित बनाउने सम्बन्धमा,
२. विविध।
समितिको आजको छलफलबाट प्राप्त सुझाव, सल्लाह र रचनात्मक विचारलाई समेट्दै चाडपर्वको समयमा यात्रु आवागमनलाई सहज, सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन देहायबमोजिमको निर्णय गरियो ।
- दशैँ , तिहार, छठ लगायतका चाडपर्वमा यात्रुको चापअनुसार पर्याप्त सवारीसाधन परिचालन गरी निर्धारित बसपार्कबाट सवारी सञ्चालन, तोकिएको स्थानबाट टिकट बिक्री तथा सुरक्षित स्थानमा मात्र यात्रु चढाउने–ओराल्नेव्यवस्था मिलाउने।साथै, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, महिला तथा बालबालिकामैत्री सेवा, यात्रु सहायता कक्ष तथा आवश्यक सहजीकरणको व्यवस्था गर्न सम्बन्धित निकायलाई निर्देशन दिने।
- चाडपर्वमा हुने यात्राको चापलाई ध्यानमा राखी सडकको अवस्था तथा सम्भावित जोखिमको पूर्वमूल्याङ्कन, वैकल्पिक मार्गको तयारी, सवारीसाधनको प्राविधिक परीक्षण, चालकको पर्याप्त विश्राम तथा गति नियन्त्रण सुनिश्चित गर्ने। क्षमताभन्दा बढी यात्रु राख्ने कार्य नियन्त्रण गर्दै एकीकृत बसपार्क नीतिको प्रभावकारी कार्यान्वयन तथा सम्बन्धित निकायबीच आवश्यक समन्वय कायम गर्न निर्देशन दिने।
- यात्रुले टिकट नपाउने, तोकिएको भन्दा बढी भाडा तिर्नुपर्ने, टिकटमा अनियमितता वा ठगी व्यहोर्नुपर्ने अवस्था आउन नदिनेगरी सहज रूपमा टिकट पाउन, भाडादरको प्रभावकारी कार्यान्वयन र गुनासो सुनुवाइको बलियो व्यवस्था सहितको तत्काल कार्ययोजना तयार गरी लागू गर्न पूर्वाधार विकास मन्त्रालयलाई निर्देशन दिने।
- २०८३ असोज ५ गते बसेको समितिको बैठकले २०८३ सालको दशैँ, तिहार, छठ लगायतका चाडपर्वहरूमा सार्वजनिक यातायातलाई सरल, सहज, व्यवस्थित र मर्यादित बनाउन उपसमिति गठन गरेकोमा उक्त उपसमितिमा माननीय राजु नाथ पाण्डेलाई सदस्यको रूपमा चयन गर्ने।
- यात्राको क्रम्मा यात्रुहरूले खाने खानेपानी, खाजा, खानालगायतका उपभोग्य वस्तुहरूको मूल्य र गुणस्तर समेतमा ठगी हुन नदिन सम्बन्धित निकायलाई निर्देशन दिने ।
पूर्वाधार विकास समिति - बैठक १४ · २०८३ आश्विन १२ · बिहान ९:३० देखि दिउँसो २:३१ सम्म
आजको उपस्थिति
कुल २९ सदस्यमध्ये ११ जना बैठकमा उपस्थित थिए र १८ जना अनुपस्थित थिए।