अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति को १७ (सत्र) औं बैठक २०८३ भाद्र १७ मा समिति सभापति मा. सुम्नीमा उदास को सभापतित्वमा सुरु भई ३ घण्टा सम्म संचालन भयो। २८ मध्ये १७ उपस्थित
सङ्घीय संसद्, प्रतिनिधि सभा, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक समितिका सभापति माननीय सुम्नीमा उदासज्यूको सभापतित्वमा बस्यो । आज बसेको समितिको बैठकमा देहायका माननीय सदस्यहरूको उपस्थितिमा निम्नानुसारको छलफल एवम् निर्णय भयो ।
- रसुवा बाढीपहिरोका कारण पर्यटन क्षेत्रमा परेको प्रभाव बारे छलफल,
- विविध ।
भोटेकोशी/रसुवा बाढीको कारण पर्यटन क्षेत्रमा परेको प्रभाव र भावी कार्यदिशाको सम्बन्धमा छलफल गर्न बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समतिको बैठक समितिको सभापति माननीय सुम्नीमा उदासको सभापतित्वमा बस्यो । समिति बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उ्ड्डयन मन्त्रालयका माननीय मन्त्री खडकराज पौडेल, मन्त्रालयका सचिव, परराष्ट्र मन्त्रालयका सहसचिव, पर्यटन विभागका महानिर्देशकलगायत सम्बन्धित क्षेत्रका प्रतिनिधिहरुको उपस्थिति थियो । आजको समिति बैठकको प्रस्तुति, छलफल तथा निर्णय देहाय बमोजिम रहेको छ :-
- समितिको तर्फबाट भोटेकोशी बाढीको कारण हराइरहेका पर्यटकको शीघ्र उद्वारको कामना गर्दै यस विपदमा ज्यान गुमाउनुहुने सबैप्रति हार्दिक श्रद्धाञ्जली र आफन्तजनमा समवेदना व्यक्त गर्ने निर्णय गरियो । साथै, यस दुःखद घडीमा नेपालप्रति सहयोग र सहानुभूति राख्नुहुने विभिन्न मित्रराष्ट्रहरू, अन्तर्राष्ट्रिय संघसंस्था तथा नागरिकहरूप्रति समितिका तर्फबाट आभार प्रकट गरियो ।
- समितिका सभापति माननीय सुम्नीमा उदासले नेपालको पर्यटन क्षेत्रले विगतमा पनि पटक-पटक विभिन्न चुनौतीको सामना गरिरहेको तर हालको विपद्मा करिब ३९ देशका सयौँ पर्यटकहरू वेपत्ता हुनुले यसको गाम्भीर्यता बढाएको बताउनुभयो । त्यसैले प्रभावित क्षेत्रको विपद्को सूचनाका साथै नेपालका अन्य गन्तव्यहरू भने खुला रहेको सन्देश अन्तर्राष्ट्रिय जगतलाई दिई विश्वास कायम गर्नु आजको चुनौती भएको उहाँको भनाई थियो ।
- भोटेकोशी/रसुवा बाढीको कारण पर्यटन क्षेत्रमा परेको प्रभाव र भावी कार्यदिशा सम्बन्धमा माननीय मन्त्रीलगायत पर्यटन क्षेत्रसम्बद्ध देहायका प्रतिनिधिहरूले आ-आफ्नो धारणा राख्नुभयो:-
क) रामकृष्ण लामिछाने, पर्यटन विभाग
ख) सहदेव धमला, नेपाल पर्यटन बोर्ड
ग) हिक्मत सिंह ऐर, नेपाल पर्यटन बोर्ड
घ) फुर् गेल्जे शेर्पा, नेपाल पर्वतारोहण संघ
ङ) विनायक शाह, HAN
च) सागर पाण्डे , TAAN
छ) ऋषि भण्डारी, Expedition Operator’s Association Nepal
ज) भरतजंग पाण्डे, NATTA
झ) विश्वराज ज्ञवाली, Social Tours
उहाँहरूले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीप्रति दुःख व्यक्त गरी आ-आफ्नो क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिको विवरण दिँदै आगामी दिनमा सामना गर्नुपर्ने चुनौतीहरूको सम्बन्धमा प्रस्तुति दिनुभयो । हराइरहेका स्वदेशी तथा विदेशी नागरिकहरुको खोजी, राहत, उद्वार तथा पुनर्स्थापनामा आ-आफ्नो क्षेत्रवाट ऐक्यबद्धता जनाउँदै उहाँहरूले पर्यटनलाई चलायमान बनाइराख्न सुझावहरू दिनुभयो । विपद् व्यवस्थापनको सन्दर्भमा सबै सम्बन्धित क्षेत्रहरूको प्रतिनिधित्व हुने गरी एकीकृत सूचना प्रणाली निर्माण गर्नुपर्ने, बाढीबाट प्रभावित पर्यटन व्यवसायको उत्थानको लागि विशेष कार्यक्रम ल्याउनुपर्नेजस्ता विषयहरू पनि उहाँहरूले उठाउनुभयो । अन्तर्राष्ट्रिय स्तरमा सहानुभूति कायम हुने गरी नेपाल खुला छ भन्ने विश्वास निर्माण गर्नुपर्ने उहाँहरूको राय थियो ।
- समितिका माननीय सांसदहरूले पनि यस अप्रत्यासित विपद्ले गर्दा पर्यटन क्षेत्रमा परेको चुनौतीको सामना गर्न सबै एकजुट हुनुपर्ने बताउँदै सूचना संप्रेषणमा सहकार्य र समन्वयको खाँचो औँल्याउनुभयो । बेपत्ता भएका पर्यटकहरूको खोजीमा नेपाल आउनुहुने महानुभावहरूलाई पनि सरकारले सहजीकरण गर्नुपर्ने र नेपालका अन्य पर्यटकीय स्थलहरू भने खुला रहेको सूचना प्रवाह गर्नुपर्ने उहाँहरूको जोड थियो । अन्तर्राष्ट्रिय रूपमा जलवायु न्यायको मुद्दालाई नेपालले प्राथमिकता दिई नेपालले राहत नभई क्षतिपुर्ति माग गर्नुपर्ने विचार पनि उहाँहरूले अभिव्यक्त गर्नुभयो । नेपालको विपद् व्यवस्थापनमा भएका सकरात्मक कार्यहरूको सन्देश पनि अन्तर्राष्ट्रिय रूपमा सम्प्रेषण गर्नु उहाँहरूको राय थियो ।
- समिति बैठकमा माननीय मन्त्रीज्यूले पर्यटन क्षेत्रमा भएको क्षतिको विवरण प्रस्तुत गर्नुहुदै विपद् पछिको उद्वार र राहतमा सरकार क्रियाशील रहेको र पर्यटनको उत्थानको लागि समेत प्रतिबद्ध रहेको जनाउनुभयो ।
- समितिले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई देहाय सम्बन्धमा निर्देशन गर्ने निर्णय गरियो :-
- नेपाल पर्यटनको बोर्डको वेबसाइटमै बाढीमा परेका पर्यटकहरूबारे एकीकृत सूचना Infographics सहित सम्प्रेषण गर्ने र सो सूचनाको लागि सबै सम्बन्धित निकाय वा संघ संस्थाहरूसँग समन्वय गर्ने,
- विपद्मा प्रभावित नभएका गन्तव्यहरू वा बैकल्पिक मार्ग बारे पनि स्पष्ट विवरण पर्यटन बोर्डको वेभसाइटमा राख्ने,
- बेपत्ता भएका विदेशी नागरिकहरूको खोजीमा आउनुहुने महानुभावहरूको सहजीकरणका लागि विमानस्थलमै वा उचित स्थानमा प्रभावकारी हेल्प डेस्कहरूको स्थापना गर्ने र राजदूतावास, सुरक्षा निकायलगायतसँग समन्वय गर्ने । उहाँहरूको प्रवेशाज्ञा तथा बसोबासमा पनि सहजीकरण गर्न उपयुक्त कदम चाल्ने ।
समितिको अर्को बैठक सूचना जारी गरेपछि बस्ने गरी आजको बैठक समापन भयो ।
...........................................
(मा. सुम्नीमा उदास)
सभापति
.........................................................
(निर्मलादेवी लामिछाने (वस्ती)
समिति सचिव