अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति को १५ (पन्ध्र) औं बैठक २०८३ भाद्र ४ मा समिति सभापति मा. सुम्नीमा उदास को सभापतित्वमा सुरु भई २ घण्टा ४० मिनेट सम्म संचालन भयो। २८ मध्ये १७ उपस्थित
सङ्घीय संसद्, प्रतिनिधि सभा, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक समितिका सभापति माननीय सुम्नीमा उदासज्यूको सभापतित्वमा बस्यो । आज बसेको समितिको बैठकमा देहायका माननीय सदस्यहरूको उपस्थितिमा निम्नानुसारको छलफल एवम् निर्णय भयो ।
- "पर्यटन विधेयक, २०८१" सम्बन्धमा होटल एशोसियन नेपाल (HAN) लगायत सरोकारवाला निकायहरूसँग छलफल,
- विविध ।
“पर्यटनसम्बन्धी प्रचलित कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८१” को सम्बन्धमा पर्यटन सम्बद्ध व्यवसायी तथा सरोकारवालाहरूसँग विधेयकको सम्बन्धमा रायसुझाव लिन बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक समितिका सभापति माननीय सुम्नीमा उदासको सभापतित्वमा बस्यो । समिति बैठकका प्रस्तुति, छलफल तथा निर्णय देहाय बमोजिम रहेको छ :-
१. समिति बैठकमा देहायका प्रतिनिधि तथा व्यवसायीहरूले आ-आफ्नो धारणा राख्नुभयो ।
- सहदेव धमला – कार्यकारी सदस्य, नेपाल पर्यटन बोर्ड,
- बिनायक शाह - अध्यक्ष, होटल एशोसियसन नेपाल (HAN)
- योगेन्द्र शाक्य- होटल एम्बेसडर
- संगीता श्रेष्ठ - द्वारिकाज होटेल
- चिन्तामणी न्यौपाने - सिद्धार्थ होटल
- प्रभा गौतम - बुर्हान क्याम्प
- सुरज बास्तोला - घरबास महासंघ नेपाल
- जितेन्द्र गोपाल श्रेष्ठ - Cosy Nepal
प्रस्तुतीकरण र छलफलको सन्दर्भमा होटल एवम् आवास क्षेत्रका प्रतिनिधि तथा व्यवसायीहरूले पर्यटनसम्बन्धी कानून निर्माण हुँदै गर्दा पर्यटकीय गन्तव्यको रूपमा नेपालको खास पहिचान के हो ? र हामीले कसलाई केन्द्रमा राख्दै छौँ भन्नेमा स्पष्टता हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । निजी क्षेत्रले नै पर्यटनमा अग्रणी भूमिका खेल्न सक्ने भन्दै सरकारले नियमन-केन्द्रित नभई प्रोत्साहनमा आधारित नीति-निर्माण गर्नुपर्ने उहाँहरूको राय थियो । साथै, विधेयकमा संघ, प्रदेश तथा स्थानीय तहबीच सामञ्जस्यता कायम हुनुपर्ने र दर्ता, कर तथा अनुगमन लगायतको व्यवस्थापनजस्ता प्रशासनिक विषय एकद्वार प्रणालीबाट हुनुपर्ने उहाँहरूको विचार थियो । उहाँहरूले अनौपचारिक क्षेत्रको नियमन, आन्तरिक पर्यटनको विकास, तथ्याङ्क व्यवस्थापन, मानव संशाधन विकास, प्रविधिको प्रयोग एवम् गन्तव्य व्यवस्थापनजस्ता विविध विषय पनि उठान गर्नुभयो ।
२. समितिका माननीय सदस्यहरूले राय प्रस्तुत गर्ने क्रममा पर्यटन विधेयकले पर्यटनको वर्तमान दिशा र भविष्यको दृष्टिकोण आँकलन गर्नुपर्ने बताउनुभयो । साथै, खास क्षेत्रहरूमा मात्र पर्यटन केन्द्रित भएको भन्दै विविध गन्तव्यको विकास हुनुपर्ने, समुदायमा आधारित पर्यटनलाई प्रोत्साहन गर्नुपर्ने र पूर्वाधार विकास पनि समानान्तर रूपमा अघि बढाउनुपर्ने विषयमा छलफल भयो । विधेयकमा विविध सरोकारवालाहरूसँग सुझाव लिई समावेशी र कार्यान्वयनयोग्य कानून निर्माण गरिने उहँहरूले बताउनुभयो ।
३. समितिका तर्फबाट अर्थपूर्ण सहभागिताका लागि सबै होटल व्यवसायी तथा प्रतिनिधिहरूलाई धन्यवाद व्यक्त गरियो ।
समितिको अर्को बैठक सूचना जारी गरेपछि बस्ने गरी आजको बैठक समापन भयो ।
...........................................
(मा. सुम्नीमा उदास)
सभापति
.........................................................
(निर्मलादेवी लामिछाने (वस्ती)
समिति सचिव