पूर्वाधार विकास समिति को ९ औं बैठक २०८३ श्रावण २८ मा समिति सभापति मा. आशिष गजुरेल को सभापतित्वमा सुरु भई ३ घण्टा १५ मिनेट सम्म संचालन भयो। २७ मध्ये १९ उपस्थित
यस समितिको बैठक समितिका सभापति माननीय आशिष गजुरेलको सभापतित्वमा बस्यो। बैठकको कार्यसूची, उपस्थिति र निर्णय देहfय बमोजिम रहेको छः-
१. खानेपानी आपूर्ति कार्य योजनाको प्रतिवेदनमाथि छलफल,
२. विविध।
समितिको बैठकमा पर्याप्त, स्वच्छ तथा सुरक्षित खानेपानीमा नागरिकको पहुँच सुनिश्चित गर्ने विषयमा खानेपानी मन्त्रालय, खानेपानी विभाग तथा नेपाल खानेपानी संस्थानका पदाधिकारीहरूसँग भएको छलफलबाट देशका विभिन्न स्थान, विशेषगरी मधेश प्रदेश, तराईका ठूला सहर, पहाडि भेग तथा काठमाडौं उपत्यकामा खानेपानीको समस्या, स्रोत संरक्षण, अधुरा आयोजना, वितरण प्रणालीमा रहेको चुहावट, संस्थागत समन्वय तथा आयोजनाको प्रभावकारितासम्बन्धी समस्या रहेको देखिएकोले देहायबमोजिम गर्न सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय गरियोः
१. स्वच्छ तथा सुरक्षित खानेपानीको पहुँचः नागरिकलाई स्वच्छ, सुरक्षित तथा पर्याप्त खानेपानी उपलब्ध गराउने कार्यलाई उच्च प्राथमिकतामा राखी अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन कार्ययोजना बनाई समयबद्ध रूपमा कार्यान्वयन गर्ने।
२. मधेश तथा तराई क्षेत्रमा खानेपानी व्यवस्थापनः मधेश प्रदेश तथा तराई क्षेत्रमा स्यालो ट्युबवेलबाट खानेपानी उपलब्ध हुन छोडेका कारण खानेपानीको समस्या उत्पन्न भएका स्थानमा वैकल्पिक स्रोतको तत्काल व्यवस्था गर्ने तथा मधेश प्रदेशमा अधुरा रहेका १७६ वटा ओभरहेड ट्याङ्कीसम्बन्धी आयोजना आवश्यक बजेटको व्यवस्था गरी शीघ्र सम्पन्न गर्ने।
३. काठमाडौं उपत्यकाको खानेपानी व्यवस्थापनः काठमाडौं उपत्यकामा मेलम्ची, बागमतीलगायतका खानेपानी स्रोतको संरक्षण, विकास तथा व्यवस्थापन गरी दीर्घकालीन रूपमा खानेपानीको दिगो आपूर्ति सुनिश्चित गर्ने। साथै, राष्ट्रिय निकुञ्ज तथा अन्य निकायसँगको समन्वयमा पानी ल्याउने कार्यमा देखिएका समस्याको समाधान गर्ने।
४. सुनकोशी–मरिन डाइभर्सन तथा दीर्घकालीन खानेपानी योजनाः सुनकोशी–मरिन डाइभर्सनबाट मधेश तथा तराई क्षेत्रमा दीर्घकालीन रूपमा खानेपानी उपलब्ध गराउने सम्भावनाको सम्बन्धमा आवश्यक सम्भाव्यता अध्ययन यसै आर्थिक वर्षमा सम्पन्न गरी लागत, स्रोत, प्रविधि तथा कार्यान्वयनको स्पष्ट खाका तयार गर्ने।
५. बृहत गुरु योजनाः नेपालका सम्पूर्ण बस्तिलाई समेटेर पानीका मुहान र सो मुहानको व्यवस्थापनबाट सोका वरपरका बस्तिमा आवश्यक खानेपानी व्यवस्थापन गर्ने गरी सङ्घीय सरकरका मन्त्रालयले एउटा बृहत गुरु योजना तयार गरी सोको कार्यान्वयनका लगि प्रदेश र स्थानीय सरकारलाई समेत जिम्मेवार हुने गरी खानेपानीको समस्या समाधान गर्ने।
६. यस समितिमा मिति २०८३/०३/१८ गते निवेदक दिनेश भण्डारीमार्फत सबिना ढकाल, ग्राहक नम्बर ११००३६४४५ (एरिया नम्बर ०६D-२-२०A) गोकर्णेश्वर न.पा. वडा नम्बर ८ आत्तरखेल, काठमाडौँले पेश गर्नुभएको निवेदनमाथि छलफल भयो । सो निवेदकको मागको निप्टारा गरी सोको जानकारी समिति समक्ष १५ दिनभित्र दिन काठमाडौँ उपत्यका खानेपानी लि., त्रिपुरेश्वर काठमाडौँलाई निर्देशन दिने ।