अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति को १८ (अठार) बैठक २०८३ भाद्र ३० मा समिति सभापति मा. सुम्नीमा उदास को सभापतित्वमा सुरु भई २ घण्टा ४० मिनेट सम्म संचालन भयो। २८ मध्ये १५ उपस्थित
सङ्घीय संसद्, प्रतिनिधि सभा, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक समितिका सभापति माननीय सुम्नीमा उदासज्यूको सभापतित्वमा बस्यो । आज बसेको समितिको बैठकमा देहायका माननीय सदस्यहरूको उपस्थितिमा निम्नानुसारको छलफल एवम् निर्णय भयो ।
- "पर्यटन विधेयक, २०८१" का सम्बन्धमा क्यासिनो क्षेत्रका व्यवसायीहरूसँग छलफल,
- विविध ।
“पर्यटन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८१”को सम्बन्धमा क्यासिनो सम्बद्ध व्यवसायीसँग छलफल गर्न बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठक समितिका सभापति माननीय सुम्नीमा उदासज्यूको सभापतित्वमा बस्यो । समिति बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका माननीय मन्त्री, मन्त्रालयका सचिव, पर्यटन विभागका महानिर्देशक, क्यासिनो सम्बद्ध ठूला तथा साना क्यासनो व्यवसायीहरूको उपस्थिति
थियो । समिति बैठकका प्रस्तुति, छलफल तथा निर्णय देहाय बमोजिम रहेको छ :-
- “पर्यटन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८१” को सम्बन्धमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका माननीय मन्त्री, सचिव, पर्यटन विभागका महानिर्देशक र देहायका ठूला तथा साना क्यासिनो व्यवसायीहरूले आफ्नो धारणा राख्नुभयो :-
- विनोद श्रेष्ठ
- अमूल्य राणा
- सुवंगत गुरुङ्ग
- अमित गुप्ता
- गिरीधर टण्डन
- बलराम सापकोटा
- किशोर सिलवाल
- दुर्गादत्त ढकाल
- चिरञ्जिवी आचार्य
- व्यवसायीहरूले नेपालमा क्यासिनो क्षेत्रको विकासका सम्बन्धमा विस्तृत प्रस्तुति दिनुभयो । उहाँहरूले सीमावर्ती क्षेत्रका क्यासिनोको मापदण्ड, विदेशी लगानी, राष्ट्र बैँकको वित्तीय सहजीकरणलगायतका विविध विषयमा आ- आफ्नो धारणा राख्नुभयो। कानून निर्माणमा देश, समाज र व्यवसायलाई सँगै राख्नुपर्ने भन्दै उहाँहरूले पर्यटन क्षेत्रको उत्थानको लागि आफ्नो प्रतिबद्धता जनाउनुभयो ।
- माननीयज्यूहरूले व्यवसायीहरूको प्रतिक्रिया तथा सुझावका लागि धन्यवाद दिँदै राज्यका तर्फबाट सबै पक्ष समेटिने गरी कानून निर्माण हुने कुरा उल्लेख गर्नुभयो । साथै, क्यासिनोलगायतका क्षेत्रका लागि नियमावलीमा के-कस्ता कुरा उल्लेख गरिन्छ भन्नेबारे पनि स्पष्ट रूपरेखा तयार हुनुपर्ने उहाँहरूको राय थियो । माननीयज्यूहरूले क्यासिनो क्षेत्रको प्रोत्साहन, नियमन लगायतका सम्बन्धमा विविध प्रश्नहरू राख्नुभयो ।
- पर्यटन विभागका महानिर्देशकले व्यवसायीहरूले राख्नुभएका सरोकारका विषयहरूमा प्रष्टिकरण दिँदै विधेयकको मर्मबारे प्रकाश पार्नुभयो । मन्त्रालयका सचिव मुकुन्द निरौलाले विधेयकका विषयवस्तु अब सम्मानित समितिको प्राधिकारमा रहेकाले समितिको निर्णय बमोजिम विधेयकमा थपघट गर्न मन्त्रालय तयार रहेको बताउनुभयो । मन्त्रालयका मन्त्री माननीय खडकराज पौडेलले पर्यटन विधेयकलाई समयानुकूल र चुस्त बनाइने तथा सारवान् विषय ऐनमा आउने र प्रक्रियागत विषय नियमावलीमा आउने कुरा व्यवसायीहरुलाई स्पष्ट पार्नु भयो ।
- समितिको अर्को बैठकमा जलवायु परिवर्तन सम्बन्धमा विज्ञहरूसँग छलफल र माननीय परराष्ट्र मन्त्रीज्यूको संयुक्त राष्ट्रसंघको महासभामा सहभागिता सम्बन्धमा छलफल गर्ने निर्णय गरियो ।
समितिको अर्को बैठक सूचना जारी गरेपछि बस्ने गरी आजको बैठक समापन भयो ।
...........................................
(मा. सुम्नीमा उदास)
सभापति
...........................................
(निर्मलादेवी लामिछाने (वस्ती)
समिति सचिव