अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति को १३ (तेह्र) औं बैठक २०८३ श्रावण २८ मा समिति सभापति मा. सुम्नीमा उदास को सभापतित्वमा सुरु भई २ घण्टा २३ मिनेट सम्म संचालन भयो। २८ मध्ये १८ उपस्थित
सङ्घीय संसद्, प्रतिनिधि सभा, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक समितिका सभापति माननीय सुम्नीमा उदासज्यूको सभापतित्वमा बस्यो । आज बसेको समितिको बैठकमा देहायका माननीय सदस्यहरूको उपस्थितिमा निम्नानुसारको छलफल एवम् निर्णय भयो ।
१. "अभौतिक सांस्कृति सम्पदा (संरक्षण) विधेयक, २०८१" मा परेको संशोधनहरू उपर संशोधनकर्ता माननीयज्यूहरूसँग छलफल,
२. विविध ।
“अभौतिक सांस्कृतिक सम्पदाको संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१” को सम्बन्धमा संशोधनकर्ता माननीयहरुसँग छलफल गर्न बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक समितिका सभापति माननीय सुम्नीमा उदासज्यूको सभापतित्वमा बस्यो । समिति बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका माननीय मन्त्री, मन्त्रालयका सचिवलगायत कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका कर्मचारीहरूको उपस्थिति थियो । समिति बैठकका प्रस्तुति, छलफल तथा निर्णयदेहायबमोजिम रहेको छ ।
१. "अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ का सम्बन्धमा देहायका संशोधनकर्ता माननीयहरूले आफ्नो संशोधन प्रस्तावको सन्दर्भ, उद्देश्य र औचित्यबारे आफ्नो धारणा राख्नु भयो :-
- माननीय परशुराम तामाङ,
- मानननीय समिक्षा बास्कोटा,
- माननीय गणेश कार्की,
- माननीय सुलभ खरेल
संशोधनकर्ता माननीयहरूले अभौतिक साँस्कृतिक सम्पदाको संरक्षण, क्षेत्र, व्यवसायीकरण र समुदायको दायित्व तथा अग्राधिकारजस्ता विषयमा आफ्नो गहन धारणा राख्नुभयो । यो विधेयकले मौलिक ज्ञान, संस्कृति, खेल, कला, लिपि, परिकारजस्ता विविध विषय सम्बोधन गर्नेुपर्ने भन्दै उहाँहरूले अभौतिक सांस्कृतिक सम्पदाको संरक्षणका लागि अभौतिक साँस्कृतिक कोषको स्थापना, प्रतिलिपि अधिकारको सुनिश्चितता, समुदायको स्वामित्वलगायत विषयमा आफ्नो संशोधनबारे प्रस्तुत गर्नुभयो ।
२. समितिको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका प्रतिनिधिहरूले संशोधनकर्ता संशोधनकर्ता माननीयहरूको प्रस्तुति उपर मन्त्रालयको धारणा व्यक्त गर्नुभयो ।
३. समितिको आगामी बैठकमा "परराष्ट्र मामिला सम्बन्धी समसामयिक विषयमा विज्ञसँग छलफल छलफल गर्ने निर्णय भयो ।
समितिको अर्को बैठक मिति २०८३ साउन २९ गते शुक्रबार दिनको २:३० बजे बस्ने गरी आजको बैठक समापन भयो ।
...........................................
(मा. सुम्नीमा उदास)
सभापति
.........................................................
(निर्मलादेवी लामिछाने (वस्ती)
समिति सचिव