अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति को १२ (बाह्र) औं बैठक २०८३ श्रावण २७ मा समिति सभापति मा. सुम्नीमा उदास को सभापतित्वमा सुरु भई २ घण्टा १५ मिनेट सम्म संचालन भयो। २८ मध्ये १९ उपस्थित
सङ्घीय संसद्, प्रतिनिधि सभा, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक समितिका सभापति माननीय सुम्नीमा उदासज्यूको सभापतित्वमा बस्यो । आज बसेको समितिको बैठकमा देहायका माननीय सदस्यहरूको उपस्थितिमा निम्नानुसारको छलफल एवम् निर्णय भयो ।
१. "अभौतिक सांस्कृति सम्पदा (संरक्षण) विधेयक, २०८१" मा परेको संशोधनहरू उपर संशोधनकर्ता माननीयज्यूहरूसँग छलफल,
२. विविध ।
“अभौतिक सांस्कृतिक सम्पदाको संरक्षण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१” को सम्बन्धमा संशोधनकर्ता माननीयहरुसँग छलफल गर्न बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक समितिका सभापति माननीय सुम्नीमा उदासज्यूको सभापतित्वमा बस्यो । समिति बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका माननीय मन्त्री, मन्त्रालयका सचिवलगायत कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका कर्मचारीहरूको उपस्थिति थियो । समिति बैठकका प्रस्तुति, छलफल तथा निर्णय देहायबमोजिम रहेको छ ।
१. "अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ का सम्बन्धमा देहायका संशोधनकर्ता माननीयहरूले आफ्नो संशोधन प्रस्तावको सन्दर्भ, उद्देश्य र औचित्यबारे आफ्नो धारणा राख्नु भयो :-
क. माननीय कुल भक्त शाक्य,
ख. मानननीय कमल सुवेदी,
ग. माननीय गणेश बहादुर विश्वकर्मा,
घ. माननीय सुशील खड्का
ङ. माननीय नरेन्द्र कुमार केरुङ
च. माननीय अनुश्का श्रेष्ठ
छ. माननीय गुरु प्रसाद बराल
संशोधनकर्ता माननीयहरूले विधेयकको नाम, प्रस्तावना, अभौतिक सांस्कृतिक सम्पदाको वर्गीकरण, अभिलेखीकरण, सिफारिस समिति, अधिकार र दायित्व, दण्ड र सजाय एवम् कोष स्थापना लगायतका प्रावधानजस्ता विषयमा आफ्नो संशोधनबारे प्रस्तुत गर्नुभयो ।
२. समितिको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाले संशोधनकर्ता माननीयहरूको प्रस्तुति उपर मन्त्रालयको धारणा व्यक्त गर्नुभयो ।
३. समितिको आगामी बैठकमा "अभौतिक सांस्कृति सम्पदा (संरक्षण) विधेयक, २०८१ मा संशोधन पेश गर्नु हुने बाँकी माननीयज्यूहरूसँग छलफल गर्ने निर्णय भयो ।
समितिको अर्को बैठक मिति २०८३ साउन २८ गते बिहिबार बिहान १०:०० बजे बस्ने गरी आजको बैठक समापन भयो ।
...........................................
(मा. सुम्नीमा उदास)
सभापति
.........................................................
(निर्मलादेवी लामिछाने (वस्ती)
समिति सचिव