अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति को ७ (सात) औं बैठक २०८३ असार २३ मा समिति सभापति मा. सुम्नीमा उदास को सभापतित्वमा सुरु भई ३ घण्टा सम्म संचालन भयो। २८ मध्ये २४ उपस्थित
सङ्घीय संसद्, प्रतिनिधि सभा, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक समितिका सभापति माननीय सुम्नीमा उदासज्यूको सभापतित्वमा बस्यो । आज बसेको समितिको बैठकमा देहायका माननीय सदस्यहरूको उपस्थितिमा निम्नानुसारको छलफल एवम् निर्णय भयो ।
- माननीय परराष्ट्र मन्त्रीको भारत र चीन भ्रमणका साथै अन्य समसामयिक विषयहरूमा समितिलाई जानकारी गराउने,
- विविध ।
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठक समितिका सभापति माननीय सुम्नीमा उदासज्यूको सभापतित्वमा बस्यो । समिति बैठकमा परराष्ट्र मन्त्रालयका माननीय मन्त्री शिशिर खनालज्यू, मन्त्रालयका सचिव लगायतका कर्मचारीहरूको उपस्थिति थियो । समिति बैठकका प्रस्तुति, छलफल तथा निर्णयहरू देहाय बमोजिम रहेको छ ।
- सर्वप्रथम, बैठकमा माननीय परराष्ट्रमन्त्री शिशिर खनालले मिति २०८३ जेठ २२ देखि २४ गते (सन् २०२६ जुन ५–७) सम्म सम्पन्न आफ्नो औपचारिक भारत भ्रमणबारे समितिलाई जानकारी गराउनु भयो । नेपाल र भारतबीचको नियमित उच्चस्तरीय भ्रमणको निरन्तरताका रूपमा रहेको उक्त भ्रमणमा व्यापार तथा आर्थिक सहकार्य, कनेक्टिभिटी, ऊर्जा साझेदारी, जलस्रोत व्यवस्थापन, र खेलकूदलगायत द्विपक्षीय सम्बन्धका सम्पूर्ण पक्षहरूमा व्यापक छलफल भएको र विभिन्न क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मुद्दाहरूमा समेत विचार आदानप्रदान गरिएको उहाँले जनाउनुभयो । भ्रमणका क्रममा अन्तरदेशीय भुक्तानी, भूकम्पपछि पुनर्निर्माण गरिएका परियोजनाहरूको हस्तान्तरण र Voice First भाषा अनुवाद प्लेटफर्मको राष्ट्रिय डिजिटल पूर्वाधार सहनिर्माणका सम्बन्धमा ३ वटा संयुक्त घोषणाहरू भएको जानकारी उहाँले दिनुभयो । साथै, विभिन्न सञ्चारमाध्यमसँगको अन्तरक्रियामार्फत् नेपालको सन्तुलित, स्वतन्त्र तथा बहुआयामिक परराष्ट्र नीतिलाई प्रभावकारी रूपमा प्रस्तुत गरिएको पनि उहाँले उल्लेख गर्नुभयो ।
- त्यस्तै, माननीय परराष्ट्रमन्त्रीले मिति २०८३ जेठ ३१ देखि असार ३ गते (सन् २०२६ जुन १४–१७) सम्म सम्पन्न आफ्नो औपचारिक चीन भ्रमणबारे पनि जानकारी दिनुभयो । उहाँले भ्रमणका अवसरमा दुवै देशका प्रतिनिधिमण्डलबीच नेपाल-चीन द्विपक्षीय सम्बन्धका सबै पक्षहरूमा गहन एवम् उपलब्धिमूलक छलफल भएको र पारस्परिक सम्मान तथा एकअर्काका प्राथमिकता एवम् संवेदनशीलताप्रति रहिआएको प्रतिबद्धता दुबै पक्षले दोहोर्याएको बताउनुभयो । विगतमा सहमति भएका द्विपक्षीय कार्यक्रम तथा परियोजनाहरूको शीघ्र कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्दै पूर्वाधार, कनेक्टिभिटी, सीमा, उर्जा, कृषि, लगानी, व्यापार व्यवस्थापन, प्रविधि हस्तान्तरणलगायत विविध क्षेत्रमा सहयोग विस्तार गर्ने विषयमा छलफल भएको उहाँको भनाइ थियो । साथै, भ्रमणका क्रममा भएका उच्चस्तरीय भेटवार्ता, सञ्चारमाध्यमसँगका अन्तरक्रिया तथा बेइजिङस्थित नेपाली राजदूतावासद्वारा आयोजित लगानी सम्मेलनमा सहभागी भई चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान गरिएको पनि उहाँले जानकारी गराउनुभयो ।
- बैठकमा समितिका माननीय सदस्यज्यूहरूले नेपालमा जेनजी विद्रोहपछिको परराष्ट्रमन्त्रीज्यूको भ्रमण अत्यन्त महत्त्वपूर्ण रहेको उल्लेख गर्दै यस्ता भ्रमण औपचारिकतामा मात्र सीमित नभई वस्तुगत रूपमै फलदायी हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँहरूले हवाई रूट अनुमति, प्रबुद्ध व्यक्ति समुह (ईपिजी)को रिपोर्ट कार्यान्वयन, सीमा विवाद, सीमा नाकाहरूको अवस्था, विगतमा सहमति भएका परियोजनाहरूको अवस्थाजस्ता विविध विषयहरूबारे जिज्ञासा राख्नुभयो । नेपाल सार्कको अध्यक्ष मुलुक रहेको सन्दर्भमा संगठनलाई गति दिन नेपालले अग्रसरता देखाउनुपर्ने उहाँहरूको राय थियो । त्यस्तै, माननीयज्यूहरूले आसन्न राजदूत नियुक्तिमा पारदर्शिता, पासपोर्टको सहज आपूर्तिजस्ता समयसामयिक विषयमा पनि चासो राख्नुभयो ।
- माननीय सदस्यज्यूहरूको जिज्ञासा सम्बोधनका क्रममा माननीय परराष्ट्रमन्त्रीज्यूले आफ्नो भ्रमणको उद्देश्य मूलत: दुवै छिमेकीहरूसँग आफ्ना प्राथमिकता दर्शाउने र सम्बन्धमा विश्वास कायम गरी विविध क्षेत्रहरूमा सहकार्यका लागि ढोका खोल्ने रहेको जनाउनुभयो । त्यसैले भ्रमणका क्रममा द्विपक्षीय सम्बन्धका सबै आयामहरूमा विमर्श भए पनि खास मुद्दा वा परियोजनामा केन्द्रित भई छलफल नभएको उहाँले स्पष्ट पार्नुभयो । भ्रमणपश्चात् विभिन्न द्विपक्षीय संयन्त्रहरू सक्रिय भएको भन्दै मन्त्रालयको संस्थागत सुधार तथा सेवा प्रवाहको सुदृढिकरणका लागि भइरहेका प्रयासबारे पनि उल्लेख गर्नुभयो । साथै, पासपोर्टको सहज आपूर्तिका लागि भइरहेको प्रयासका विषयमा पनि उहाँले जानकारी दिनुभयो ।
- समितिका सभापति माननीय सुम्नीमा उदासले आगामी आर्थिक वर्षका लागि समितिको कार्ययोजना तथा रणनीतिक एजेन्डाको प्रारम्भिक खाका प्रस्तुत गर्नुभयो ।
- समितिको कामकारबाहीलाई सहयोग पुर्याउन तथा अध्ययन प्रयोजनार्थ तीन वटा उपसमितिहरू गठन गर्नेबारे छलफल भयो । पहिलो उपसमिति "डायस्पोरा तथा आर्थिक कूटनीतिसम्बन्धी" विषयमा, दोस्रो उपसमिति "बदलिँदो विश्व शक्ति सन्तुलनको सन्दर्भमा नेपालको परराष्ट्र नीतिसम्बन्धी" विषयमा तथा तेस्रो उपसमिति "अभौतिक साँस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१" अध्ययनका लागि गठन गर्ने निर्णय गरियो । साथै, समितिले आगामी दिनहरूमा गर्न उपयुक्त हुने स्थलगत निगरानीका बारेमा पनि छलफल भयो ।
समितिको अर्को बैठक सूचना जारी गरेपछि बस्ने गरी आजको बैठक समापन भयो ।
............................................
(मा. सुम्नीमा उदास)
सभापति
.........................................................
(निर्मलादेवी लामिछाने (वस्ती)
समिति सचिव